News

कालापत्थरमा फेसन सो हुँदै

Image_not_found

काठमाडौँ — आउँदो माघ १२ गते सगरमाथा क्षेत्रको ५ हजार ६ सय ४४ मिटर उचाईको कालापत्थरमा फेसन शो हुने भएको छ । नेपालको प्रकृतिलाई विश्वभर चिनाउन तथा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पुर्‍याएको असरबारे विश्व समुदायलाई जानकारी गराउने उद्देश्यले कालापत्थरमा फेसन शो हुन लागेको हो ।

नेपाल पर्यटन बोर्डकी कार्यवहाक सीइओ नन्दीनी लाहे थापाका अनुसार माघ १२ गतेका दिन हुने कार्यक्रममा ५ नेपालीसहित नौंवटा मुलुकका १८ जना मोडल सहभागी हुनेछन्। उनीहरु नेपाली भेषभुषा तथा पहिरनमा सजिएर कालापत्थरको स्टेजमा प्रर्दशनी गर्नेछन्।

 

द माउन्ट एभरेस्ट फेसन रनवे नाम राखिएको कार्यक्रमको आयोजकमा चारवटा नेपाली संस्था तथा व्यक्तिहरु के फिल्मस प्रालि, कासा, आरबी डायमन्ड, डा. पंकज के गुप्ता छन्। आयोजकमध्येका गुप्ताका अनुसार, कार्यक्रममा सहभागी हुने मोडलहरु इटली, रोमानिया, सर्बिया, जिम्बाबिया, इन्डोनेसिया, घाना, श्रीलंका, लिथुआनियाका छन्।

सन् २०१८ की मिस नेपाल युनिभर्स मनिता देवकोटा, मिस नेपाल इन्टरनेसनल रोनाली अमात्यसहित सहभागी हुने अधिकाशं मोडल विश्व सुन्दरी प्रतियोगितामा भाग लिएकाहरु छन्। आयोजकले यो कार्यक्रमलाई गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा दर्ज गर्दै छ। आयोजकले गिनिजमा सबै प्रक्रिया दर्ता गराइसकेको र एक जना निर्णायक (जज) गिनिजबाट सहभागी हुन लागेको जनाएको छ।

 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई कालापत्थर जाने तय भइसकेको छ। यो फेसन शोमा आयोजकले पुन: प्रयोग गर्न मिल्ने अल्लो लगायतका नेपाली कच्चा पदार्थबाट उत्पादन गराएका लुगा बनाउँदै छ। ती लुगा मोडलहरुले लगाई तीस मिनेटको शोमा प्रदर्शनी गर्नेछन्।


त्यस्तै नेपाली गहनाहरु आरबी डायमन्डले बनाउँदै छ। उक्त कार्यक्रमका दिन कालापत्थरमा ३० जना सहभागी हुनेछन्। प्रमुख अतिथिबाहेक सबै लुक्लाबाट पदयात्रा गर्दै कालापत्थर पुग्ने छन्। यो कार्यक्रमको चर्चित फेशन टिभी एमटीभीले ८ वटा भागमा डकुमेन्टी बनाई उक्त च्यानलबाट प्रसारण गर्ने भनेको छ।

आयोजकले यो कार्यक्रमको लागत कम्तीमा ८० लाख रुपैया लाग्ने अनुमान गरेको छ। जलवायु परिवर्तनबारे चेतना दिने उद्देश्य राखिएको कार्यक्रमका सहभागीहरुले काठमाडौंमा १ हजार बिरुवा पनि रोप्दै छन्।

Source : ekantipur.com